काठमाडौं,१३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा चुनाव तोकिएको मितिमै सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बडादसैँको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले वर्तमान सरकार युवापुस्ताको बलिदान र आन्दोलनको जगमा बनेको भन्दै त्यसको सम्मान गर्दै चुनावमा कुनै ढिलाइ नगर्ने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री कार्कीले सुशासन कायम गर्न सरकार दृढ रहेको उल्लेख गर्दै देश–विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना पनि दिनुभयो।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस वर्ष प्रधानमन्त्री कार्कीले टीका नलगाउने र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम समेत नरहेको जानकारी दिएको छ।
युवाले ज्यान गुमाएको पीडादायी परिस्थितिलाई सम्झँदै यस्तो निर्णय गरिएको बताइएको छ।




