बीरगन्ज,१३ असोज । चाडपर्वलाई लक्षित गरी कडाइ गरिएको विशेष सुरक्षा अभियानअन्तर्गत प्रहरीले बीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट दुई युवालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको सुँघ्ने कुकुर (‘डग स्निफिङ’) टोलीले सोमबार बेलुकी ४ बजेदेखि ६ बजेसम्म भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका दुबैलाई शंका लागेर चेकजाँच गरेको थियो।
जाँचका क्रममा चितवन रत्ननगरका २७ वर्षीय कैलाश कार्कीको साथबाट २.५३० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, बीरगन्ज–१० अशोक वाटिकाका २० वर्षीय राहुल सरार्फको पाइन्टको गोजीमा भने ओनेरेक्स लेखिएको १०० मिलिलिटरको लागूऔषधयुक्त कफ सिरप बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ। चाडपर्वका बेला लागूऔषधको गैरकानुनी कारोबार बढ्न सक्ने भएकाले सीमा क्षेत्रमा ‘डग स्निफिङ’ टोलीसहित सुरक्षा जाँच कडा पारिएको प्रहरीले जानकारी दिएको छ।





