रौतहट,१३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा जेनजी आन्दोलनका सहभागी वा सहिद परिवारको पनि प्रतिनिधित्व गराउन सुझाव दिएका छन्।
रौतहटको फतुवाबिजयपुर नगरपालिका–२ सितलपुरमा आयोजित शुभकामना कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष साहले जेनजी आन्दोलनकै बलमा बनेको सरकारले त्यही समूहको प्रतिनिधित्व नगर्नु दुखद भएको टिप्पणी गर्नुभयो।
साहले भन्नुभयो, “अहिलेको सरकार जेनजी आन्दोलनको बलमा गठन भएको हो। त्यसैले यसमा जेनजी आन्दोलनका सहभागी र सहिद परिवारको प्रतिनिधित्व हुनै पर्छ।”
उहाँले कांग्रेस र एमालेको दुई तिहाई शक्तिशाली सरकारले मुलुकको संरक्षण गर्न नसकेको आलोचना गर्दै, पार्टीभित्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस भइरहेको पनि उल्लेख गर्नुभयो। साहका अनुसार, नेताहरूले नेतृत्व हस्तान्तरण गरेर अगाडि बढाएमा मुलुक र पार्टी दुवैको हितमा हुनेछ।



