काठमाडौं,१४ असोज । बडादशैं अन्तर्गत नवरात्रको आठौं दिन आज महागौरी देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। दशैंघर, कोतलगायत देशभरका शक्तिपीठमा बलिसहित दुर्गा सप्तशती पाठ र विशेष पूजा गर्ने परम्परा छ।
यस दिन साधकहरूले आ–आफ्ना कुलदेवी–देवता तथा स्थानीय शक्तिस्थलमा बलि दिन्छन् भने सात्विक पूजामा नरिवल, कुभिण्डो, केरा, घिरौँला लगायत फलफूल अर्पण गरिन्छ। काठमाडौंको दशैंघर हनुमानढोकामा भने परम्पराअनुसार तलेजु भवानीलाई ५४ राँगा र त्यति नै बोका बलि दिने चलन छ।
महाअष्टमी र महानवमीबीचको रातलाई ‘कालरात्रि’ मानिँदै गुप्तपूजा गर्ने परम्परा पनि आजकै दिनसँग सम्बन्धित छ। विशेषगरी ‘पञ्चबलि’ दिने चलन रहिआएको छ जसमा बोका, राँगा, परेवा, हाँस र भेंडा चढाइन्छ। धार्मिक ग्रन्थअनुसार यी पाँच पशु मानिसका अंहकार, मोह, मद, लोभ र विकृत कामभावको प्रतीक मानिन्छन् र त्यसलाई बलि दिनुपर्ने अर्थ दिइएको छ।
महागौरीलाई सेतो वृषभमाथि आरूढ, श्वेतवस्त्रधारी र गौरवर्णमा चित्रण गरिएको छ। पुराणहरूमा उनको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिएको छ।
यसअघि असोज ६ गते घटस्थापना गरेर नवरात्र सुरु गरिएको थियो। नौ दिनसम्म पूजाआराधना गरेर प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने प्रथा छ।




