spot_img

दशैंमा डेंगी फैलन सक्ने उच्च जोखिम, चिकित्सकले सचेत रहन आग्रह

spot_img
spot_img

काठमाडौँ, १४ असोज । दशैंका अवसरमा मानिसको आवतजावत र भीडभाड बढ्ने भएकाले डेंगी संक्रमण फैलन सक्ने खतरा थपिएको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्।  लगातार वर्षाले लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बनेको छ, जसका कारण आगामी केही हप्तामा संक्रमण दर तीव्र हुन सक्ने अनुमान गरिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का तथ्यांकअनुसार गत एक हप्तामै २९४ जना नयाँ संक्रमित थपिएका छन्। पुसदेखि हालसम्म देशभर ५,१९६ जनामा डेंगी पुष्टि भएको छ। यो अघिल्लो वर्षभन्दा केही कम भए पनि अबको समय अत्यन्त संवेदनशील हुने महाशाखाले जनाएको छ।

ईडीसीडीअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यस वर्ष ७५ जिल्लामा डेंगी फैलिएको छ। हालसम्म कुनै पनि क्षेत्रलाई ‘हटस्पट’ भनिने अवस्था नभए पनि मौसम र चाडपर्वका यात्राले जोखिम बढाएको उनले बताए।

तराईदेखि पहाडसम्म संक्रमण देखिएको छ। दशैंमा ठूलो संख्यामा मानिस पहाडी जिल्लातर्फ जाने भएकाले त्यहाँ थप फैलावट हुने आशंका विशेषज्ञहरूले व्यक्त गरेका छन्।
सावधानीका उपाय
स्वास्थ्य विज्ञहरूले सरसफाइमा विशेष ध्यान दिन, घर वरिपरिको पानी जम्न नदिने, लामखुट्टेबाट बच्ने उपाय अपनाउने, समयमै स्वास्थ्य परीक्षण गराउने लगायतका सावधानी आवश्यक रहेको बताएका छन्। उच्च ज्वरो, टाउको दुखाइ, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि उनीहरूले आह्वान गरेका छन्।

सरकारले स्थानीय तहमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्न, लामखुट्टे नियन्त्रणका लागि नियमित फगिङ र सरसफाइ अभियानलाई तीव्रता दिन समेत आग्रह गरेको छ। स्वास्थ्य अधिकारीहरूले दशैंको यात्रा र भीडभाडका समयमा व्यक्तिगत सुरक्षा मापदण्ड पालन गर्न सबैलाई अनुरोध गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय