काठमाडौ,१४ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा वास्तविक परिवर्तन ल्याउन ठूला दलका नेताहरूलाई राजनीतिबाट जबर्जस्ती विदाइ गर्नुपर्ने बताएका छन्।
रौतहटको चन्द्रपुर नगरपालिका–चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उनले सिण्डिकेटधारी दल र तिनका नाइकेहरू सत्ताबाट हट्नासाथ मात्र जनताको भलो हुने दाबी गरे।
साहका अनुसार सिंहदरबार, रामशाहपथ र बहादुरभवनजस्ता प्रमुख प्रशासनिक केन्द्रहरू अझै पनि तीन प्रमुख दलको प्रभाव र “विषादी” मा जकडिएको हुँदा देशले अपेक्षित प्रगति गर्न नसकेको हो।
देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले हरेक देशभक्त नेपालीलाई अब सचेत र चनाखो बन्न आह्वान गरे।




