बीरगन्ज,१४ असोज । बडा दशैँको सप्तमी र महाअष्टमीको विशेष अवसरमा मधेशका प्रमुख शक्तिपीठहरू श्रद्धालु भक्तजन, विशेषगरी महिलाहरूको ठूलो घुइँचोले भरिएका छन्।
पति र सन्तानको दीर्घायु तथा परिवारको कल्याणको कामना गर्दै महिलाहरू बिहानैदेखि मन्दिरमा लामो लाइनमा उभिएर ‘खोइछ’ भर्ने परम्परा निर्वाह गरिरहेका छन्।
जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा त हिजो रातिदेखि नै हजारौं महिलाले खोइछ भरिसकेका छन् भने अझै पनि पालो कुर्दै कतार लामिएको छ। यस्तै धनुषाको रामानन्दचोकसहित मधेशका अन्य शक्तिपीठहरूमा पनि सप्तमी र अष्टमीको यो पवित्र विधिमा भक्तजनको ठुलो उपस्थिति छ।
खोइछ भर्ने क्रममा महिलाहरूले चुन्दरीमा पान, सुपारी, सिन्दुर, चुरा, फलफूल लगायत सामग्री राखी माताको चरणमा अर्पण गर्छन्। यससँगै लड्डु चढाउने भक्तहरूको भीडले पनि वातावरण झनै उल्लासमय बनेको छ।
दशैंको यो विशेष पर्वले मधेशभर धार्मिक आस्था, उत्साह र भक्तिभावको वातावरण थप उत्कट बनाएको छ।





