वीरगंज, १४ असोज – वीरगंजको गहवामाई शक्तिपिठमा करिब ४ हजार बली चढेको छ। मेला व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार पुजा ७:३० बजेबाट सुरु भएकाे र बली दिने कार्य बिहान ८:०६ बजेबाट आरम्भ भएको हो।
८ बजेबाट सुरु भएको बली दिने कार्य दिउँसो ४ बजेसम्म चलेको थियो। मन्दिर परिसरमा दिइएको बलीको गणनाको आधारमा करिब ४ हजार वली चढेको अध्यक्ष साहले जानकारी दिएका छन्।
वली दिने कार्य सकिएपछि मन्दिर परिसरमा बलीको टाँउ खाल्टो खनेर पुरिने प्रचलन छ। गहवामाई मन्दिरमा नवरात्रीको अष्टमीका दिन बोका, हाँस, कुखुरा, भेँडा लगायतको बली दिने परम्परा रही आएको छ।
वीरगंजको दसहारा मेला दुई–तीन दिनअघिदेखि नै सुरु भएको थियो। अष्टमीको राती भिडभाड कम भए पनि, मेलाको शान्ति र सुरक्षा तथा दर्शनार्थीको सहज दर्शन सुनिश्चित गर्न मन्दिर परिसरमा राम्रो व्यवस्थापन गरिएको छ। चोरी तथा भिडभाड नियन्त्रणका लागि मन्दिरमा १२ वटा सीसी क्यामेरा जडान गरिएको अध्यक्ष साहले जानकारी दिएका छन्।
सिसिटीभीको निगरानीका कारण चोरी तथा अबद्र व्यवाहारकाे घटनामा कमी आएको अध्यक्ष साहले दावी गरे । मन्दिर परिसरमा चोरी गर्ने दुई जनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ।
समान्य घटना बाहेक मेला शान्तिपूर्ण रुपमा सञ्चालन भएको छ। सोमबार परेको पानीका कारण भिड कम देखिएको भए पनि मंगलवार मेला भव्य रुपमा लागेको मेला मुख्य समारोह समितिले जनाएको छ।
मेलालाई शान्तिपूर्ण सम्पन्न गराउन विभिन्न क्लबका युवाहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरिएको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटहरू समेत मेलामा परिचालन थिए।





