वीरगञ्ज, पर्सा — वीरगञ्जको गहवामाई मन्दिर नजिकै मङ्गलवार राति दसैं मेलामा दुई समूहबीच भएको झडपमा एक युवाको ज्यान गएको छ । बाँसको लट्ठी प्रहारबाट गम्भीर घाइते भएका युवकलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीका २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) हुन् । हाल उनी वीरगञ्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका थिए र पेसाले ई–रिक्सा चालक थिए । शीवमका बुबा हिन्दु र आमा मुस्लिम भएको बताइएको छ ।
झडपको घटनाक्रम
प्रहरीका अनुसार मङ्गलवार राति करिब ११:४५ बजे माईस्थानबाट गीता मन्दिरतर्फ जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबीच विवाद भएको थियो । विवाद क्रमशः उग्र बन्दै गएपछि कुटपिट सुरु भयो र शीवममाथि बाँसको लट्ठीले प्रहार गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गम्भीर घाइते अवस्थाका शीवमलाई नारायणी अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए ।
‘ग्याङ फाइट होइन, लक्षित आक्रमण’
एसपी पाठकका अनुसार यो घटना सामान्य झडप वा ‘ग्याङ फाइट’ होइन, लक्षित आक्रमण हो । “दुवै समूहबीच पुरानो रिसिइबीका कारण झडप भएको र शीवममाथि उद्देश्यपूर्वक आक्रमण गरिएको देखिन्छ,” उनले भने ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तत्काल १० जना युवालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको पहिचान सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
सुरक्षा व्यवस्थामाथि प्रश्न
घटना गहवामाई मन्दिरबाट केही सय मिटरको दूरीमा, प्रहरीको बाक्लो उपस्थिति हुने संवेदनशील क्षेत्रमा भएको हो । भीडभाड हुने मेलास्थलमै कुटपिट र एक जनाको मृत्यु भएपछि पर्सा प्रहरीले गरेको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठेको छ ।
प्रहरीले जिल्लामा शान्ति–सुरक्षा कडा रहेको दाबी गरिरहँदा मेलाजस्तो संवेदनशील स्थानमा अपराध रोकथाम गर्न नसक्नुले प्रहरीको तयारी र सक्रियतामाथि आशङ्का उत्पन्न भएको छ ।
स्थानीयको आक्रोश
स्थानीय बासिन्दाहरूले प्रहरीको कमजोर उपस्थिति र ढिलो कारबाहीकै कारण यस्ता घटना दोहोरिइरहेको गुनासो गरेका छन् । मेलामा पनि पर्याप्त सतर्कता नअपनाइएकाले यस्तो दुःखद घटना भएको उनीहरूको आरोप छ ।





