काठमाडौं,१५ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ हजार ७८६ उजुरी दर्ता भएका छन्।
आयोगका अनुसार साउन महिनामै मात्र ३ हजार ९२२ उजुरी दर्ता भएका थिए। तीमध्ये १ हजार १७६ उजुरी आयोगको वेबसाइटमार्फत, ९४३ इमेलमार्फत, ८८९ लिखित, ६५३ हुलाकमार्फत र १५१ टेलिफोनमार्फत प्राप्त भएका हुन्।
त्यस्तै, भदौ महिनामा २ हजार २७६ उजुरी दर्ता भएका छन्। तीमध्ये ७१७ वेबसाइटमार्फत, ५२४–५२४ इमेल र लिखित उजुरी तथा ३६६ हुलाकमार्फत दर्ता भएका छन्।
असोज १३ गतेसम्म मात्रै थप ५८८ उजुरी आयोगमा दर्ता भइसकेको छ।
अख्तियारले उजुरी संकलनका लागि वेबसाइट, इमेल, हुलाक, टेलिफोन लगायत विभिन्न माध्यम प्रयोग गर्दै आएको छ। उजुरीको बढ्दो संख्याले भ्रष्टाचारविरुद्धको जनचासो र निगरानी थप तीव्र बन्दै गएको संकेत आयोगले जनाएको छ।



