झापा, १६ असोज । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ज्यान गुमाउनेमा सुनसरी इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक मोरङ रंगेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरी रहेका छन्।
प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको बस बिहीबार बिहान करिब ९ः३० बजे बिर्तामोड नगरपालिका–६ बुट्टाबारी नजिकै अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका १३ जनाको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धान अनुसार चालकको लापरवाही वा सवारीको गति नियन्त्रणमा नआएको हुन सक्ने अनुमान गरिएको छ।




