बीरगन्ज, १७ असोज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित पुलमुनि एक युवक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान करिब १०० मिटर पश्चिमतर्फ झलमहिया–भिस्वा सडकखण्डको पुलमुनि स्थानीय रमेश साह कानु (२८) मोटरसाइकलसहित मृत भेटिएका हुन् ।
वीर आर २२ ए एल १२७३ नम्बरको भारतीय प्लेट भएको होण्डा साइन मोटरसाइकलसहित पानीमा डुबेको अवस्थामा साहको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे पर्सा प्रहरीले प्रारम्भिक अनुमानमा मोटरसाइकलसहित पुलमुनि खसेर मृत्यु भएको हुनसक्ने बताएका छन् । तर, घटनाको वास्तविक कारण भने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखिरियाको टोली पुगेर थप अनुसन्धान सुरु गरिएको छ ।





