चितवन — लगातारको वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा ठूलो पहिरो खसेपछि मुग्लिन–नागढुङ्गा सडक खण्ड दुवै तर्फबाट अवरुद्ध भएको छ। शुक्रबार साँझदेखि निरन्तर परेको वर्षापछि शुक्रबार राति करिब १:४५ बजे सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउने काम सुरु गरिएको छ तर पूर्ण रूपमा सडक खुल्न कम्तीमा तीन घण्टा लाग्ने अनुमान गरिएको छ।
हाल सडकमा सवारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरूलाई असुविधा पुगेको छ। प्रहरीले भने यात्रुहरूलाई अनावश्यक जोखिम नलिन र सुरक्षित स्थानमा पर्खन आग्रह गरेको छ।
नारायणगढ–मुग्लिन सडक खण्ड भने हालसम्म सञ्चालनमै रहेको खनालले जानकारी दिए। लगातारको वर्षा जारी रहेकाले स्थानीय प्रशासनले यात्रु र चालकहरूलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ।




