मकवानपुर — लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण हेटौंडा र काठमाडौं जोड्ने सबै मुख्य तथा वैकल्पिक सडकहरूमा सवारी सञ्चालन तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै असोज १८ गतेदेखि २० गतेसम्म सबै सडकमार्गमा (अत्यावश्यक सवारीबाहेक) आवागमन रोक्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार वर्षाले सडकमा बाढी र पहिरोको जोखिम बढेपछि जनधनको सुरक्षालाई प्राथमिकता दिँदै अस्थायी रूपमा सडक बन्द गरिएको हो।
हेटौंडा र काठमाडौंलाई जोड्ने चारवटा मुख्य मार्गहरू — त्रिभुवन राजपथ (हेटौंडा–नौबिसे खण्ड), कान्तिलोकपथ (ललितपुरको सातदोबाटो हुँदै), कुलेखानी–फाखेल–फर्पिङ, र कुलेखानी–सिस्नेरी–फर्पिङ सडक — सबैमा सवारी सञ्चालन रोकिएको प्रशासनले जनाएको छ। यी वैकल्पिक सडकहरूबाट दैनिक एक हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका थिए।
सडक बन्दको निर्णयपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका टोलीहरू सक्रिय बनेका छन्। त्रिभुवन राजमार्गअन्तर्गत हेटौंडा–१ चौकिटोलमा दुई, चार र छ पाङ्ग्रे सबै प्रकारका सवारीसाधनलाई फर्काउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
यात्राको क्रममा बीच बाटोमा अलपत्र परेका सवारीसाधन र यात्रुहरूलाई पनि प्रहरीले उद्धार र व्यवस्थापन गरिरहेको छ। प्रशासनले यात्रु र चालकहरूलाई आवश्यक नपरी सडक प्रयोग नगर्न तथा सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।




