१६ असोज, रौतहट । अविरल वर्षासँगै रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ । कटहरिया नगरपालिका–२ हथियायीका १६ वर्षीय सेहराज लहरी र नविन यादवको शनिबार साँझ ६:३० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।
लगातारको वर्षाले रौतहटका विभिन्न बस्तीहरू जलमग्न बनेका छन् । स्थानीय बासिन्दाका घर, विद्यालय र सरकारी कार्यालयहरूमा पानी पसेको छ ।
पछिल्ला १२ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा धेरै ३२६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने गौरमा ३०४.४ मिलिमिटर र गरुडामा २७०.४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।




