काठमाडौं,१८ असोज । देशका विभिन्न भागमा निरन्तर भइरहेको वर्षा अझै केही दिन तीव्र रहने संकेत देखिएको छ । मौसमविद् र विपद् व्यवस्थापन विज्ञहरूले आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेश प्रदेशका पश्चिमी जिल्लाहरूमा भीषण वर्षा र संकटपूर्ण स्थिति कायम रहने चेतावनी दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार, विभिन्न मोडेलहरूले काठमाडौं उपत्यकामा शनिबार रातीदेखि आइतबार बिहानसम्म अति भारी वर्षा (Extreme Rainfall) हुने देखाएका छन् । उनका अनुसार, ‘तराईको वीरगञ्ज र आसपासका क्षेत्रमा जारी रेड अलर्ट कायमै छ, र उपत्यकामा पनि रातीदेखि प्रणाली अझै सक्रिय हुने देखिएको छ । अझै संकट टरिसकेको छैन, आज रातभर भारी वर्षा हुन सक्छ, त्यसैले सोमबारसम्म सतर्क रहनुपर्छ,’ जोशीले बताए ।
वर्षाको तथ्यांक र जोखिम क्षेत्रहरू
पछिल्ला २४ घण्टामा मधेश प्रदेशको पश्चिमी भागमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको छ ।
-
रौतहट, बारा, पर्सा, महोत्तरी, सिरहा र सर्लाहीमा बाढी, डुबान र चट्याङको जोखिम उच्च रहेको छ ।
-
काठमाडौं उपत्यकामा १०० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको र सतह अझ बढ्दै गएको विभागको भनाइ छ ।
-
खोकना, बल्खु, कालीमाटी, नख्खु र विष्णुमती किनारका बस्तीहरू उच्च जोखिममा छन् ।
खोकनास्थित बागमती नदीको सतह सतर्कता तह पार गरेर खतराको तह नाघ्ने अवस्थामा पुगेको बताइएको छ । यदि रातभर निरन्तर वर्षा भयो भने बल्खु, धोबीघाट र विष्णुमती क्षेत्रका बासिन्दा डुबानमा पर्न सक्ने अनुमान गरिएको छ ।
विपद् व्यवस्थापन विज्ञहरूको सुझाव
विपद् विज्ञ धर्मराज उप्रेतीका अनुसार, ‘रातभर ठूलो पानी पर्ने सम्भावना भएकाले अब ढिलाइ नगरी जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आवश्यक छ ।’
उनले खोलाकिनारका बस्तीका बासिन्दालाई आफन्त वा सामूहिक आश्रय स्थलमा अहिले नै सार्न आग्रह गरेका छन् ।
‘अन्तिम समयमा उद्दार कठिन हुन्छ, त्यसैले अहिले नै अन्न, कपडा र कागजात लिएर सुरक्षित ठाँउमा जानु बुद्धिमत्तापूर्ण हुनेछ,’ उप्रेतीले भने ।
गृह मन्त्रालयले पनि जोखिमका क्षेत्रका स्थानीय प्रशासनलाई स्कूल र सामुदायिक भवनलाई अस्थायी आश्रय स्थल बनाउन निर्देशन दिएको छ । खोलाकिनारका सडकमा राति सवारी चलाउन रोक लगाइएको छ ।
जोखिम अब पूर्वी नेपालतिर सर्दै
मौसमविद्हरूका अनुसार, शनिबारदेखि सक्रिय भएको मौसमी प्रणाली आइतबार बिहानपछि क्रमशः काभ्रे, रामेछाप हुँदै पूर्वी नेपालतिर सर्ने अनुमान छ ।
भारतको बिहार र उत्तर प्रदेशमा जारी रेड अलर्टको प्रभाव आइतबारदेखि इलाम, झापा, मोरङ र धनकुटासम्म पुग्ने देखिएको छ ।
त्यसक्रममा महाभारत र चुरे क्षेत्रका साना नदीहरूमा बाढी र पहिरोको जोखिम बढ्ने चेतावनी दिइएको छ ।
महानिर्देशक जोशीका अनुसार, ‘हामीले जोखिम क्षेत्रका बासिन्दालाई मोबाइल म्यासेज, एफएम रेडियो र माइकिङमार्फत सतर्क गराइरहेका छौं । सुरक्षा निकायहरू तयारी अवस्थामा छन् ।’
नागरिकका लागि सिफारिसहरू
-
जोखिम क्षेत्रका बासिन्दाले नदी, खोल्सो र पहिरो सम्भावित ठाउँबाट टाढा रहनु।
-
बिजुली र चट्याङको जोखिममा परेमा खुला स्थानमा नबस्नु र बिजुली उपकरणहरू बन्द गर्नु।
-
आवश्यक सामान, कागजात र औषधि सुरक्षित ठाउँमा राख्नु।
-
स्थानीय प्रशासनको सूचना र निर्देशन अनिवार्य रूपमा पालना गर्नु।
मौसमविद्हरूका अनुसार, आइतबार बिहानसम्म वर्षाको चरम अवस्था रहनेछ भने सोमबारबाट क्रमशः सुधारको संकेत देखिएको छ । तर हालसम्मको वर्षा नै असामान्य र खतरनाक स्तरमा पुगेको भन्दै विज्ञहरूले “अत्यधिक सतर्कता र समयमै सुरक्षाको तयारी” नै अहिलेको सर्वोत्तम उपाय भएको बताएका छन् ।




