बीरगन्ज,१९ असोज । सामाजिक सञ्जालमा भिडियो बनाउने लतले फेरि एउटा दुःखद घटना निम्त्याएको छ। बाराको कलैया–वीरगन्ज सडकखण्डअन्तर्गत दुधौरा पुलमा टिकटक खिच्ने क्रममा दुई युवक खोलामा हाम फाल्दा एकजना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी बिजयराज पण्डितका अनुसार शनिबार बिहान करिब ८:३० बजे प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विक्की गिरी र उनका साथी अन्दाजी २० वर्षीय अनुराग केशरीले टिकटक भिडियो खिच्ने क्रममा खोलामा हाम फालेका थिए।
घटनामा अनुराग केशरीले खोलाबाट बाहिर निस्कन सफल भए पनि विक्की गिरी बगेर बेपत्ता भएका छन्। उनलाई खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाहरू सहितको संयुक्त उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
“टिकटक भिडियो खिच्ने क्रममा उनीहरूले खोलामा हाम फालेका थिए। यस्ता जोखिमपूर्ण गतिविधिका कारण दुर्घटना भएको हो,” डीएसपी पण्डितले बताए।
प्रहरीले नागरिकलाई सामाजिक सञ्जालका लागि जोखिमयुक्त स्थानमा भिडियो नखिच्न र हरेक गतिविधिमा सावधानी अपनाउन आग्रह गरेको छ।



