काठमाडौं,१९ असोज । लगातारको वर्षापछि आइतबार रातिदेखि इलामका विभिन्न स्थानीय तहमा गएको पहिरोले ठुलो जनधनको क्षति पुर्याएको छ। ताजा जानकारी अनुसार पहिरोमा परेर कम्तीमा १८ जनाको ज्यान गएको र कैयौं घाइते भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार इलाम नगरपालिका, माङसेबुङ, सूर्योदय, देउमाई र फाकफोकथुम गाउँपालिकाका विभिन्न बस्तीहरूमा पहिरोले घरहरू पुरिँदा ठूलो क्षति पुगेको हो।
इलाम नगरपालिका–५, घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका–१, पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५, धारेमा १ जना, सोही नगरपालिकाको धुसुनेमा २ जना र फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा १ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ।
माङसेबुङमा दुई जना गम्भीर घाइते भएको र उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको थियो। तर लगातारको वर्षा र खराब मौसमका कारण हेलिकप्टर उडानमा कठिनाइ भएको प्रहरीले बताएको छ।
घटनास्थलहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरूको सहयोगमा उद्धार तथा राहत कार्य जारी छ। पहिरोका कारण कैयौं बस्ती अझै जोखिममा रहेका छन् भने धेरै घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
एसएसपी पोखरेलका अनुसार, “जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।”
इलामका विभिन्न भागमा अझै वर्षा जारी रहेकाले थप पहिरोको जोखिम कायमै छ। प्रशासनले नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।





