बीरगन्ज,१९ असोज । अविरल वर्षा र बाढीले पर्सा जिल्लामा उत्पन्न गरेको संकटका बीच सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले निरन्तर उद्धार तथा राहत कार्य गर्दै सयौँ नागरिक, बिरामी र पशुचौपायाको ज्यान बचाएको छ।
सशस्त्र प्रहरीका अनुसार बीरगन्जका विभिन्न क्षेत्रमा आएको डुबान र पहिरोको जोखिमबीच कारागारदेखि बस्तीसम्म उद्धार कार्य सञ्चालन गरिएको छ।
हिजो राति परेको अविरल वर्षाका कारण बीरगन्ज कारागार कार्यालय परिसरमा पानी जम्दा बन्दीहरूको अवस्था असहज बनेको थियो। सो समयमा खटिएको सशस्त्र प्रहरी टोलीले मोटरमार्फत पानी फाल्दै कारागार क्षेत्रलाई तत्काल सहज बनाएको थियो।
आज बिहान सशस्त्र प्रहरीको उद्धार टोलीले वीरगन्ज–१६, भुटनदेवी मन्दिर नजिक डुबान र घर भत्किने जोखिममा परेका दीपक श्रीवास्तवको ४ सदस्यीय परिवारलाई सुरक्षित रूपमा छिमेकीको घरमा स्थानान्तरण गरेको छ।
त्यस्तै वीरगन्ज–१३, राधेमाईकी रिज्वान खातुनलाई ज्वरो आएर अस्पताल जान नसकेको अवस्थामा १६ जनाको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो। वीरगन्ज–११, विद्यापति नगरका ७ जनाको परिवारलाई पनि डुबान क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।
यसैगरी, पोखरिया नगरपालिका–२, लमरियाका १५–२० जना बासिन्दालाई समेत उद्धार गरी आफन्तको घरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीले सिरिसिया खोलामा पानीको बहाव बढेपछि वीरगन्ज–२४, रामगढवास्थित गौशाला गाई फर्ममा करिब तीन फिटसम्म पानी पसेको थियो। गणबाट खटिएको १७ जनाको टोलीले १३२ वटा गाईहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो।
त्यस्तै, बिन्दवासिनी गाउँपालिका–२, गर्दौलास्थित वीरगन्ज–पोखरिया सडकखण्डमा रुख ढलेर अवरुद्ध बाटो सशस्त्र प्रहरीको टोलीले पन्छ्याएर पुनः सञ्चालनमा ल्याएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, “विपद्को यो घडीमा उद्धार टोलीहरू नागरिकको ज्यान र सम्पत्तिको सुरक्षामा दिनरात खटिरहेका छन्। आवश्यकता परे थप बल र उपकरण परिचालन गर्न तयारी छ।”



