महोत्तरी,१९ असोज । महोत्तरी जिल्लाका विभिन्न क्षेत्र निरन्तर वर्षाले जलमग्न भएका छन् । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी नगरपालिका, औरही नगरपालिका, बलवा नगरपालिका, महोत्तरी गाउँपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र लोहरपटी नगरपालिका रूपमा प्रभावित भएका छन् ।
जलेश्वर नगरपालिकामा जलेश्वर अस्पताल, निर्वाचन कार्यालय महोत्तरी, जलेश्वर कारागार, महादेव मन्दिर, नगरपालिकाको कार्यालय र साहुजी पटी लगायतका बस्तीहरूमा पानी पसेर जलमग्न बनेका छन् । मटिहानी नगरपालिकाको वडा नं. १, ६, ८ र ९ पूर्णरूपमा प्रभावित बनेका छन् भने सिमरदही टोलमा बस्ती नै डुबानमा परेको छ ।
त्यस्तै बलवा नगरपालिकामा तीन फिटसम्म पानी जमेको छ । पिपरा गाउँपालिकामा पनि पानी पसेर जनकपुरधाम–जलेश्वर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाका मुख्य नदीहरू विगही, औरही, कुटमेश्वरी र रातुमा पानीको स्तर तीव्र रूपमा बढेपछि आसपासका वस्तीहरू डुबानमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार उद्धार टोली (रेस्क्यु टिम) लाई जिल्लाभर परिचालन गरिएको छ । उनले हालसम्म मानवीय क्षति नभएको जानकारी दिँदै कुनै ठुलो क्षति हुन नदिनका लागि स्वयं स्थलगत निरीक्षणमा रहेको बताए ।



