spot_img

बीरगन्जका अधिकांश क्षेत्र डुबानमा, सयौँ बासिन्दाको उद्धार

spot_img
spot_img

बीरगन्ज,२० असोज । लगातारको वर्षाले वीरगन्ज महानगरका विभिन्न क्षेत्र डुबानमा परेका छन्। सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाइएको छ। महानगर प्रमुख राजेशमान सिंहका अनुसार जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य तीव्र रूपमा भइरहेको छ।

वडा नम्बर ११ र १७ मा डुबानको स्थिति गम्भीर रहेको छ। प्रभावित बासिन्दालाई विद्यालय र धर्मशालामा आश्रय दिन थालिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगन्जसहित जिल्लाभर सतर्कता अपनाइएको र सम्भावित जोखिमका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए।

विगतमा क्षति पुर्‍याउने भेडाहा खोलाले यसपटक वडा ३० र ३१ मा केही क्षति पुर्‍याएको छ। वडा ३१ का अध्यक्ष जितेन्द्रप्रसाद यादवका अनुसार खोलाले बालुवाको बोरा राखेर बनाइएको बाँधको केही भाग बगाएको छ। त्यस्तै, वेल्वा गाउँको छठघाट र पश्चिमतर्फको बाँध पनि क्षतिग्रस्त भएको छ। वडा १७ का अध्यक्ष सञ्जु छत्कुलीले तिलावे पुलतर्फको पानी वडा १७ भित्र पस्न लागेको र कोनिया टोल उच्च जोखिममा रहेको बताए। उक्त टोलका करिब सय घरधुरी जोखिममा छन्, र एक्स्काभेटरमार्फत पानी कटाउने काम भइरहेको छ।

वडा ११ का अध्यक्ष अजयकुमार बरैले श्रीपुरको नयाँबस्ती र दलित बस्तीमा डुबानले समस्या निम्त्याएको बताए। करिब डेढ सय जनालाई श्रीपुर धर्मशालामा सारिएको छ। वडा २४ का अध्यक्ष विजयप्रसाद कुर्मीका अनुसार सिर्सिया नदी किनारका ब्रह्मटोल, मनमोहननगर, ज्योति कोलनी र बज्रङ टोल उच्च जोखिममा छन्। उद्धार गरिएका बासिन्दालाई कुर्मी सेवा सदन र रामजानकी धर्मशालामा राखिएको छ।

वडा २६ का अध्यक्ष शम्भु मिश्रले पानी निकासको अभावका कारण वडाभर डुबान भएको बताए। जिल्ला विपद् व्यवस्थापन समितिले सिर्सिया नदी र अन्य नदीहरू खतराको तह नाघेपछि तीनवटै सुरक्षा निकायलाई उद्धारमा परिचालन गर्ने निर्णय गरेको छ।

सशस्त्र प्रहरी बल नं. १३ गणले वीरगन्ज कारागारमा जमेको पानी मोटरमार्फत निकाल्दै कारागार क्षेत्रलाई सुरक्षित बनाएको छ। सशस्त्र प्रहरी उपरीक्षक पुरन भट्टका अनुसार वीरगन्ज–१६ भुटनदेवी नजिकका दीपक श्रीवास्तवको परिवार (४ जना) र वडा ११ को विद्यापति नगरका ७ जनालाई सकुशल उद्धार गरिएको छ।

यसअघि, पोखरिया नगरपालिका–२ लमरियास्थित डुबानमा परेका २० परिवारका सदस्यलाई पनि उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको थियो।

स्थानीय प्रशासनले अझै वर्षा जारी रहँदा जोखिम बढ्न सक्ने भन्दै नदी किनार र तल्लो भू–भागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय