रौतहट, २० असोज । लगातार परेको भारी वर्षाले रौतहटका विभिन्न ठाउँ डुबानमा परेका छन् । विशेषगरी राजपुर नगरपालिका–२ अन्तर्गतको महेशपुर गाउँमा बाढीको असर ठूलो देखिएको छ । वडा अध्यक्ष सोनालाल पण्डित कुम्हरका अनुसार गाउँका करिब ५० घरभित्र पानी पसेको र करिब तीन सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।
धानबालीसहितका खेतबारीमा समेत ठूलो क्षति पुगेको उनले बताए । “अहिलेसम्म पानी नघटेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ,” उनले भने ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सदरमुकाम गौरमा ३१५ मिलिमिटर र गरुडा क्षेत्रमा ३०४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । गौर बजारसमेत अहिले पानीमुनि परेको छ । गरुडाको गेडहीगुठी, लालबकैया, झाझ र बागमती आसपासका बस्तीहरूमा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।

झाझ नदीमा आएको बाढीका कारण गौर–गङ्गापिपरा सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । त्यस्तै, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहका अनुसार गाउँपालिकाका पाँचै वडाका करिब २५ प्रतिशत घरमा क्षति पुगेको छ ।
राजपुर नगरपालिका–३ मा पर्ने हुलाकी राजमार्गको खण्ड पनि लालबकैया नदीमा आएको बाढीका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार यातायात सञ्चालन रोकिएको छ ।
त्यस्तै, गुजरा नगरपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर–जङ्गलसैया भित्री सडक बन्द भएको छ । वडा नं ९ अमतवास्थित प्रतीक टोलका १० घरमा पानी पसेको नगर प्रमुख शन्तलाल चौधरीले बताए ।
बाढीले सबैभन्दा बढी जोखिममा परेका वृन्दावन नगरपालिका–१ का बस्तीहरूबाट भने राहत र उद्धार कार्य भइरहेको छ । बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र उच्च स्थानमा सर्न आग्रह गरेको छ । बाढीले अझै केही दिन असर गर्न सक्ने भन्दै प्रहरी, सेना र स्थानीय तहले राहत तथा उद्धार कार्यलाई तीव्र पारेका छन् ।




