spot_img

५७ वर्षयताकै तेस्रो ठूलो बाढी सप्तकोशीमा, सबै ढोका खोलिए

spot_img
spot_img

सप्तकोशी ,असोज २० । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव ५७ वर्षयताकै तेस्रो उच्च स्तरमा पुगेको छ । आइतबार दिउँसो ४ बजे कोशी ब्यारेज नियन्त्रण कक्षले ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको जनाएको छ ।

नियन्त्रण कक्षका अनुसार पानीको स्तर यसरी नै बढ्दै गए ६ लाख क्युसेक प्रतिसेकेन्ड पुग्ने सम्भावना रहेको छ । शनिबार बिहानदेखि पहाडी क्षेत्रमा लगातार परेको भीषण वर्षाले नदीमा पानीको बहाव ह्वात्तै बढाएको हो ।

बढ्दो पानीको चापका कारण कोशी ब्यारेजका सबै ५६ ढोका पूर्ण रूपमा खोलिएको छ । कोशी योजना विराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाका अनुसार ब्यारेजले अधिकतम ९ लाख क्युसेक पानीको बहाव सहन सक्ने क्षमता राखे पनि सावधानीस्वरूप ढोका खोलिएको र ब्यारेज क्षेत्रको आवागमन समेत रोकिएको छ ।

गत वर्ष असोज १२ गते कोशीमा ५ लाख ९५ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानी बगेको थियो — जुन सन् १९६८ यताकै दोस्रो ठूलो बहाव थियो । यस वर्षको बहाव त्यसपछि तेस्रो उच्च स्तरमा रहेको भूआर्जन कार्यालय विराटनगरले जनाएको छ । सन् १९६८ को अक्टोबर ५ मा ७ लाख ८८ हजार २०० क्युसेक पानी बगेको र त्यसले विशाल बाढी ल्याएको ऐतिहासिक तथ्य रहेको छ ।

अधिकृत सिटौलाका अनुसार हाल कोशीमा पूर्वी स्परमा कुनै क्षति भएको छैन । राजाबास, प्रकाशपुर, मधुवनलगायतका क्षेत्रमा तटबन्ध सुरक्षित रहेको र जोखिम नियन्त्रणका सबै तयारी पहिल्यै पूरा गरिएको उनले जानकारी दिए ।

यसबीच, स्थानीय प्रशासनले कोशी आसपासका बासिन्दालाई सतर्क रहन र उच्च स्थानमा सर्न आग्रह गरेको छ । कोशी नदीमा सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर र लिखुजस्ता नदीहरूको पानी मिसिने भएकाले निरन्तर निगरानी बढाइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय