काठमाडौं,२० असोज । यस वर्ष वैशाखयता विभिन्न विपद्जन्य घटनामा परेर हालसम्म २८५ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आज मात्र ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको जानकारी प्राप्त भएको छ। सबैभन्दा बढी मृत्यु इलाममा भएको छ, जहाँ ३७ जनाको पहिरोमा परेर ज्यान गएको छ। हालसम्म ५० जिल्लामा विपद् प्रभावित क्षेत्रका रुपमा चिनिएको छ।
प्राधिकरणका तथ्याङ्कअनुसार यस वर्ष सबैभन्दा धेरै ८६ जनाको मृत्यु सर्पदंशबाट भएको छ। त्यसपछि पहिरोमा परेर ४६ र चट्याङका कारण ४५ जनाको मृत्यु भएको छ।

आज सार्वजनिक विवरणमा बाढीबाट ३०, भारी वर्षाबाट ३, आगलागीबाट २३, हावाहुरीबाट ८, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ। त्यस्तै, बाढीबाट २३, पहिरोबाट ३ र जनावरको आक्रमणबाट एक जना बेपत्ता भएका छन्।
प्रवक्ता महतका अनुसार हालसम्म चार हजार ६५ वटा विपद्जन्य घटना भएका छन्, जसमा एक हजार ७२ जना घाइते भएका छन्। यी घटनाबाट कुल ७ हजार २११ परिवार प्रभावित भएका छन्।




