विराटनगर,२० असोज । सुनसरी जिल्लाको कोशी गाउँपालिका–७ बाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। आइतबार राति, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय भण्टाबारीबाट परिचालित टोलीले धानबारी भित्र लुकाई राखिएको १३ वटा प्लास्टिक बोरामा गाँजा फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जानकारी दिएको छ।
गाँजा ओसारपोसारमा संलग्न रहेको आरोपमा सोही ठाउँका ४५ वर्षीय दिनेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका यादवमाथि लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। यो बरामदलाई पछिल्लो समयको सुनसरीमा सबैभन्दा ठूलो गाँजा बरामदको रूपमा लिइएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा लागू औषधको कारोबार बढिरहेको भन्दै निगरानी कडा पारिएको जनाएको छ।



