काठमाडौं,२० असोज । प्रधानमन्त्री सुशीला कार्कीले हालैको अविरल वर्षाका कारण उत्पन्न संकटका विषयमा छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक मंगलबार बिहान ११:३० बजे बस्ने गरी आह्वान गरेकी छन्।
प्रधानमन्त्रीको निर्देशनमा परिषद्को बैठक आह्वान गरिएको जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले दिएका छन्। उनका अनुसार, बैठकमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था, तथा पुनःस्थापना रणनीतिमा नीति तय गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरिने छन्।
भट्टले दिएको जानकारीअनुसार, हालसम्म बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु, ६ जना बेपत्ता, र २४ जना घाइते भएका छन्। घाइतेहरूको निःशुल्क उपचार भइरहेकाे छ भने पीडित परिवारलाई खाद्यान्न र आवश्यक सामग्रीको व्यवस्था मिलाइएको छ।

उनले अझै केही स्थानहरूमा खोज तथा उद्धारको कार्य जारी रहेको बताए। त्यसैले पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको प्राधिकरणको भनाइ छ। सरकारले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा द्रुत, समन्वित र दीर्घकालीन समाधानमुखी कार्य सुनिश्चित गर्न परिषद् बैठकलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।




