काठमाडौं,२० असोज । अविरल वर्षापछिको विपद्बाट अति प्रभावित इलाम जिल्लाको स्थलगत अवलोकन गर्न तय गरिएको ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह राज्यमन्त्री ओम प्रकाश अर्यालको भ्रमण कार्यक्रम स्थगित गरिएको छ।
आज बिहान ११ बजे काठमाडौंबाट झापाको भद्रपुर हुँदै हेलिकप्टरमार्फत इलाम पुग्ने तयारी भए पनि उडान व्यवस्थापनमा समस्या आएपछि भ्रमण रद्द गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। “११ बजे जान भनिएको थियो। तर त्यसअगाडिको उडान नपाइएपछि आजको लागि भ्रमण स्थगित गरिएको हो,” मन्त्रालय स्रोतले बतायो। यद्यपि, छिट्टै राहत सामग्रीसहित इलाम जाने कार्यक्रम बनाउने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले जनाएका छन्।
असोज १८ गतेको भीषण वर्षाका कारण इलाममा हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ भने धेरैजना घाइते र बेपत्ता छन्।बाढीपहिरोका कारण राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। इलाममा तत्काल उद्धार, राहत र पुनःस्थापना आवश्यक भएको बेला उच्चस्तरीय भ्रमण स्थगन हुनुले केही आलोचना पनि उत्पन्न भएको छ। यद्यपि मन्त्रालयले चाँडै पुनः कार्यक्रम तय गरेर प्रभावित क्षेत्रमा पुग्ने प्रतिबद्धता जनाएको छ।




