काठमाडौं,२० असोज । देशका चार प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन क्रमशः बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भागबाट मनसुनी वायु कमजोर हुँदै बाहिरिएको हो।
महाशाखाले जनाएको छ कि मनसुनी गतिविधि क्रमशः कमजोर बन्दै गएकाले अब केही दिनभित्र नेपालको बाँकी भूभागबाट पनि मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना छ।
यो वर्षको मनसुन जेठ १५ गते नेपाल प्रवेश गरेको थियो र असार ६ गते देशभर फैलिएको थियो। सामान्यतया मनसुन अक्टोबर २ तारिखसम्म बाहिरिने गर्छ, तर यस वर्ष पछिल्लो चरणमा पुनः सक्रिय भइसकेको कारण केही ढिलाइ भएको बताइएको छ।
गत शुक्रबारदेखि आइतबारसम्म बङ्गालको खाडीबाट उत्पन्न न्यूनचापीय प्रणाली र स्थानीय मौसमी प्रभावका कारण देशका विभिन्न स्थानमा सामान्यदेखि अति भारी वर्षा भएको थियो। तर, सोमबारदेखि मौसममा सुधार देखिन थालेको मौसमविद्हरूको भनाइ छ।



