धादिङ,२० असोज । जेन–जी आन्दोलनका क्रममा प्रहरीसँग वादविवाद गरी भाइरल बनेका धादिङका ३० वर्षीय यमबहादुर कँडेलले आफ्नै आमाको निर्मम हत्या गरेका छन्। त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका कँडेललाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालका अनुसार, आइतबार राति करिब साढे ८ बजे मादक पदार्थ र लागूऔषध सेवन गरेर यमबहादुरले धारिलो हतियार (खुकुरी) प्रयोग गरी आफ्नी ५५ वर्षीया आमा राममाया कँडेलको टाउको र शरीर छुट्टिने गरी हत्या गरेका हुन्।
प्रहरीका अनुसार, यमबहादुर काठमाडौँमा बस्दै आएका थिए र दसैँ मनाउन केही दिनअघि मात्रै गाउँ फर्किएका थिए। उनी लामो समयदेखि लागूऔषध दुर्व्यसनमा फसेका थिए।

घटनाको बेला घरमा उनका बुवा, आमा, भान्जा–भान्जी र उनी आफैं थिए। सुरुमा उनले भान्जामाथि आक्रमण गर्न खोजे पनि भान्जा भाग्न सफल भएका थिए। त्यसपछि बुवामाथि पनि हतियार प्रहार गर्न खोज्दा बुवाले भागेर ज्यान जोगाएका थिए। अन्ततः उनले आमालाई आक्रमण गरी हत्या गरेका हुन्।
“हत्या गरेपछि उनले शव आँगनमा ल्याएर राखे र बुवालाई समेत धम्क्याए,” एसपी रिजालले भने। प्रहरीले घटनास्थलबाट खुकुरीसहित यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
यमबहादुर गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रहरीसँगको विवादपछि भाइरल बनेका थिए। भिडियोमा उनले “मेरो आँखामा डर छैन, मलाई गोली हान्नुस्, म यो देश रोएको देख्न सक्दिनँ” भन्दै आक्रोश पोखेका थिए। उनले आफूलाई ‘वान म्यान आर्मी’ भन्दै विदेशी पुँजीवादविरुद्ध लड्ने दाबी पनि गरेका थिए।
प्रहरी स्रोतका अनुसार, यमबहादुरको आपराधिक पृष्ठभूमि पनि रहेको पाइएको छ। उनी विगतमा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ समूहसँग संलग्न थिए र विभिन्न मुद्दामा पक्राउ परेका थिए। २०६९ सालमा सार्वजनिक अपराधको मुद्दा चलेको र काठमाडौँको स्वयम्भू र हनुमानढोका प्रहरीमा समेत उनका विरुद्ध मुद्दा दर्ता भएको पाइएको छ।
स्थानीयका अनुसार, परिवारले उनलाई सुधार गृह पठाउनेबारे छलफल चलिरहेको थियो। यही विषयमा असन्तुष्ट बनेर उनले आमाको हत्या गरेको अनुमान गरिएको छ।
प्रहरी चौकी सल्यानकोटका अनुसार, घटनास्थलमा प्रत्यक्ष बल प्रयोग गरी उनलाई नियन्त्रणमा लिइएको हो। अहिले उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।




