रौतहट,२१ असाेज । निरन्तर वर्षापछि आएको बाढीका कारण रौतहटको सदरमुकाम गौर हालसम्म पनि जलमग्न अवस्थामा छ। गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गौर नगरपालिका–६ सबगढा गाउँ नजिक लच्कामा पानीको तीव्र बहावका कारण गौरतर्फको आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो।
गौर बजारबाट करिब पाँच किलोमिटर उत्तर सबगढासम्म मात्रै सवारीसाधन पुग्न सक्ने अवस्था छ भने त्यसपछिको बाटो पैदल हिँड्न पनि कठिन बनेको स्थानीयवासीले बताएका छन्। उनीहरूका अनुसार भारतले सीमा क्षेत्रमा निर्माण गरेको बाँधका कारण हरेक वर्ष गौर डुबानमा पर्ने गरेको छ, र यस वर्ष पनि सोही कारणले पानीको निकास हुन नसक्दा समस्या थप गम्भीर बनेको हो।
सोमबारदेखि मौसम खुलिसके पनि गौर बजारमा पानी नघट्दा स्थानीय बासिन्दा र व्यापारीहरू हिँडडुल र व्यवसाय सञ्चालनमा निकै कठिनाइमा छन्। डुबानका कारण जिल्लास्थित अधिकांश सरकारी कार्यालयहरू समेत ठप्प छन्, जसले सेवाग्राहीहरूलाई समस्या परेको छ।
जिल्लाका मुख्य नदीहरू बागमती र लालबकैया नदीको पानीस्तर केही घटेपनि गौर बजारमा निकास नहुँदा डुबानको अवस्था यथावत छ। नेपाल–भारत आवागमन समेत अवरुद्ध बनेको छ। सशस्त्र प्रहरी बलले रबर बोटमार्फत स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम निरन्तर गरिरहेको छ।
त्यस्तै, बौधीमाई नगरपालिका–इनरवारी हुँदै देवाही गोनाहीतर्फ जाने बाटो पनि बाढीले अवरुद्ध पारेको छ। जयनगर–कलैया सडकखण्ड अन्तर्गत सनारानिया गाउँ नजिकको भागमा बाढीले करिब ७–८ फिट कालोपत्रे बगाएपछि सवारीसाधन चल्न सकेका छैनन्। स्थानीयले बाँसको लच्का राखेर पैदल, साइकल र मोटरसाइकल वारिपार गर्ने व्यवस्था मिलाएका छन्।
बाढी र डुबानका कारण रौतहटको जनजीवन र यातायात दुवै गम्भीर रूपमा प्रभावित बनेको छ।



