काभ्रेपलाञ्चोक,२१ असोज । लगातारको अविरल वर्षापछि गएको शुक्रबारदेखि आइतबारसम्मको बाढीपहिरोले काभ्रेपलाञ्चोकका चार पालिकामा सडक सञ्जाल र विद्युत् सेवा ठप्प भएका छन्। विद्युत् अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित भएको छ।
सबैभन्दा बढी प्रभावित पालिकाहरूमा खानीखोला, महाभारत, रोशी र बेथानचोक पर्दछन्। बाढीपहिरोका कारण महाभारत पर्वत श्रृङ्खलापारी (डाडाँपारी) का दुई पालिकामा जाने सडक पूर्णरुपमा बन्द भएको छ। स्थानीय जनप्रतिनिधिहरूका अनुसार खानीखोला र महाभारत जाने सडक खुल्न हप्ता दिनसम्म लाग्ने सम्भावना छ।
महाभारतमा सडक, विद्युत् र सञ्चार सम्पर्कबाट पूर्ण विच्छेद भएको छ। अध्यक्ष कान्छालाल जिम्बा का अनुसार महाभारत जाने वैकल्पिक सडक उपलब्ध छैन। डाँडापारीमा रहेको खानीखोलामा जाने सबै सडक अवरुद्ध भएका कारण मर्मतमा समय लाग्ने अध्यक्ष इन्द्रबहादुर थिङले बताए।
रोशी गाउँपालिकामा बीपी सडकअन्तर्गत विभिन्न ठाउँमा अस्थायी डाइभर्सन कटान भएपछि वडा र गाउँ केन्द्रमा जाने सडकहरू अवरुद्ध भएका छन्। चौकीडाँडा र घुमाउने क्षेत्रका सडकहरू मात्र बनेपछि गाउँपालिका केन्द्र मुख्य सडक सञ्जालसँग जोडिने अध्यक्ष दिनेश लामाले जानकारी दिए।
बेथानचोक गाउँपालिकामा पनि सडक खुलाउने काम स्थानीय जनप्रतिनिधिहरू सक्रिय भएर गरिरहेका छन्। अध्यक्ष भगवान अधिकारीका अनुसार अवरुद्ध सडक खोल्न आवश्यक मेसिनहरू प्रयोग गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको छ।
सुरक्षित यातायात र सेवा पुनःस्थापना गर्न पालिकाहरूले आवश्यक उपकरण र जनशक्तिको परिचालन गरिरहेको जनाइएको छ।



