काठमाडौं,२१ असोज । हालै देशका विभिन्न भागमा परेको बाढी र पहिरोका कारण घरबार गुमाएका पीडितका लागि सरकारले तत्काल राहत तथा अस्थायी आवासको व्यवस्था गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछिको पत्रकार सम्मेलनमा सरकारले उक्त निर्णय सार्वजनिक गरेको हो। बैठकले बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउने र अस्थायी आवासको व्यवस्थामा प्राथमिकता दिने निर्णय लिएको हो।
सरकारका अनुसार बाढीपहिरोबाट घर पूर्ण रूपमा क्षति भएको परिवारलाई अस्थायी बसोबासका लागि कुल ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। यसमध्ये पहिलो चरणमा २५ हजार रुपैयाँ तुरुन्त उपलब्ध गराइनेछ भने बाँकी २५ हजार रुपैयाँ भने एक लेबलको घर संरचना निर्माण भएपछि मापदण्ड अनुसार वितरण गरिनेछ।

सरकारले दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने तयारीसमेत गरिरहेको जानकारी दिएको छ। यसका लागि विस्तृत कार्ययोजना तयार पार्ने कार्य अघि बढाइएको छ।
बैठकले विपद् पछिको अवस्था र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महामारी फैलिन नदिन आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय सरकारको समन्वयमा सचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका पहलहरू सुरु गरिनेछ।
सरकारले महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच समन्वयात्मक ढंगमा काम गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ।




