काठमाडौँ,२१ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनलाई कमजोरीको संकेत नभई शक्तिको रूपान्तरणको अवसरका रूपमा लिने बताएका छन् ।
मंगलबार भिडियो सन्देशमार्फत उनले भने, “कसैले भन्छन्— विशेष महाधिवेशनले त पार्टीलाई कमजोर बनाउँछ रे? तर म स्पष्ट भन्न चाहन्छु, यो पार्टीको विधानमै रहेको व्यवस्था हो । जब विधानअनुसार अघि बढिन्छ, त्यसले पार्टीलाई कमजोर होइन, अझ बलियो बनाउँछ।”
शर्माले विशेष महाधिवेशनका लागि आफूले कसैलाई टेलिफोन गरेर हस्ताक्षर गर्न आग्रह नगरेको स्पष्ट पारेका छन् । तर, सोध्नेहरूलाई भने हस्ताक्षर गर्न सुझाव दिएको उनले बताएका छन् । “म कसैलाई आफैं फोन गरेर हस्ताक्षर गर्नुस् भनेको छैन, तर मलाई सोध्नेहरूलाई भने गरेको छु— गर्नुहोस्,” उनले भने ।
महामन्त्री शर्माले विशेष महाधिवेशनलाई पार्टी सुधारको ‘अप्रेशन’ सँग तुलना गर्दै भने, “अप्रेशनले केही समयका लागि कमजोर बनाउँछ, तर पछि तन्दुरुस्त भएपछि शरीर बलियो हुन्छ । त्यसरी नै पार्टी पनि विशेष महाधिवेशनपछि अझ सक्षम र सुदृढ बन्छ ।”
उनले आगामी असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न नेताहरुलाई सुझाव दिएका छन् । “हस्ताक्षर गर्ने निर्णय गर्नुभएको हो भने किन कुर्नुहुन्छ? लगनपछिको पोतेको के अर्थ?” शर्माको प्रश्न थियो ।
शर्माको भनाइ अनुसार, पार्टीभित्रको मतभेदलाई प्रक्रियागत र लोकतान्त्रिक ढङ्गले समाधान गर्ने उपाय नै विशेष महाधिवेशन हो, जसले अन्ततः नेपाली कांग्रेसलाई अझ सुदृढ बनाउनेछ ।




