जनकपुर,२१ असाेज । मधेस प्रदेशमा नयाँ सरकार गठनका प्रयास तीव्र भइरहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले यही विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सोमबार टेलिफोन वार्ता गरेका छन्।
अध्यक्ष ठाकुर हाल मधेस प्रदेशमा आफ्नै दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयासमा छन्। यसअघि उनी जनकपुर पुगेर पार्टीका प्रदेश सांसदहरूसँग विस्तृत छलफल गरी राजधानी फर्किएका थिए। त्यसपछि उनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग भेट गरी त्यही अवसरमा देउवासँग पनि टेलिफोन संवाद गरेका थिए।
लोसपाका एक नेताका अनुसार सभापति देउवा लोसपाको नेतृत्वमा मधेस सरकार गठनको प्रस्तावप्रति सकारात्मक देखिएका छन्। देउवाले यस विषयमा पार्टीभित्र छलफल गरेर निर्णय दिने आश्वासन अध्यक्ष ठाकुरलाई दिएका थिए।
तर, मधेस प्रदेशको नेतृत्व लोसपाले सहजै पाउने अवस्था भने देखिएको छैन। प्रदेश कांग्रेस सभापति तथा सांसद कृष्णा यादवले पनि मुख्यमन्त्री बन्ने दौडधुप तीव्र बनाएका छन्। उनले मधेसका अन्य दलका नेताहरू र आफ्नो पार्टीका शीर्ष नेताहरूसँग निरन्तर भेटघाट गरिरहेका छन्।
यता, लोसपाका महासचिव डा. सुरेन्द्र झाले भने ठूला दलबीच मधेस केन्द्रित दलकै नेतृत्वमा सरकार बनाउने सहमति भएको दाबी गरेका छन्। “यो पटक मधेस प्रदेशको नेतृत्व लोसपाले लिन्छ भन्ने समझदारी बनेको छ,” उनले भने, “अध्यक्ष ठाकुरजी त्यस दिशामा सक्रिय हुनुहुन्छ।”
लोसपाका नेताहरूका अनुसार जसपा नेपालले पनि लोसपाको नेतृत्वमा बन्ने नयाँ सरकारलाई समर्थन गर्ने तयारी गरेको छ। यसबारे अध्यक्ष ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवबीच संवाद भएको जनाइएको छ।
यद्यपि, जनमत पार्टीका मुख्यमन्त्री सतिषकुमार सिंहले अहिलेसम्म पदत्याग गरेका छैनन्। कांग्रेसले समर्थन फिर्ता लिएपछि सिंह अहिले अल्पमतमा परेका छन्, जसका कारण प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने प्रक्रिया तीव्र भएको छ।





