काठमाडौँ,२१ असाेज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत (सीडीओ) का रूपमा खटाइएका कर्मचारीहरूलाई सात दिनभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ। यस सम्बन्धमा मन्त्रालय, आयोग, सचिवालय तथा अन्य निकायहरूलाई पत्रमार्फत ताकेता गरिएको हो।
मन्त्रालयले मिति २०८२/०६/२१ को पत्रमार्फत सबै मन्त्रालय, संवैधानिक निकाय र सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई यो निर्देशन पठाएको जनाएको छ। मन्त्रालयका अनुसार केही कर्मचारीहरू हालसम्म पनि खटाइएको स्थानीय तहमा हाजिर नभएको कारण स्थानीय तहको नियमित कामकाजमा गम्भीर असर परेको गुनासो विभिन्न स्थानीय तहबाट प्राप्त भएको छ।
शाखा अधिकृत भविन्द्र कार्कीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ कि यसअघि पनि मिति २०८२/०५/३१ मा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० बमोजिम रमाना दिन पत्राचार गरिएको थियो।
मन्त्रालयका अनुसार हाजिर नहुँदा स्थानीय तहको नियमित प्रशासनिक कामका साथै प्राकृतिक विपत्तिका कारण सिर्जित अवस्थाको व्यवस्थापनमा पनि कठिनाइ भएको छ। अन्ततः मन्त्रालयले निर्णय गरेको छ कि सात दिनभित्र सरुवा भएका वा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई रमाना दिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायहरूले तत्काल पहल गर्नुपर्नेछ।



