काठमाडौँ,२२ असोज । देशभर मनसुनको प्रभाव क्रमशः कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश क्षेत्र तथा गण्डकी प्रदेशको पश्चिमी भागमा पश्चिमी वायुको असर देखिएको छ, भने बाँकी प्रदेशमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव मात्र रहेको छ ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र तराईका क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । विभागले बिहान जारी गरेको दैनिक मौसम बुलेटिनका अनुसार कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।
मौसमविद्हरूका अनुसार मनसुनी प्रणाली क्रमशः कमजोर हुँदै गएकाले आगामी केही दिनभित्र मनसुन पूर्णरूपमा अन्त्य हुने संकेत देखिन थालेको छ ।



