रौतहट,२२ असोज । रौतहटको सीमावर्ती बौधिमाई नगरपालिका–८ हनुमान चौकमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृतक बौधिमाई–६ पिपरिया टोलका २४ वर्षीय सन्तोष राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।
यादव हनुमान चौकमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका थिए । मङ्गलबार दिउँसो करिब सवा ३ बजे ग्यारेजमा मोटरमार्फत पानी तान्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामै उनलाई स्थानीय चन्द्र ज्योति कान्ति अस्पताल, बंकुल लगिएको थियो । तर उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले थप अनुसन्धान जारी राखेको छ ।



