रौतहट,२२ असोज । कटहरिया नगरपालिकामा करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूले बक्यौता तलब तथा सेवा–सुविधा नपाएपछि आन्दोलनको चेतावनी दिएका छन् ।
शुक्रबार वडा नं. १ देखि ९ सम्मका करार तथा ज्यालादारी कर्मचारीहरूले योजना प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवलाई ज्ञापनपत्र बुझाउँदै तलब र अन्य सुविधा तत्काल भुक्तानी गर्न माग गरेका हुन् ।
कर्मचारीहरूले पटक–पटक माग राख्दा पनि मेयर अजय प्रकाश जैसवालले आश्वासन मात्रै दिएर समस्या समाधान नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले अब बाध्य भएर आन्दोलनको बाटो लिनुपर्ने अवस्था आएको बताएका छन् ।
ज्ञापनपत्रमा शान्तिपूर्ण धर्ना, वडा तथा नगरपालिका कार्यालय बन्दजस्ता कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन गर्ने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै योजना प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली बिदामा रहेको र उनी फर्किएपछि मात्र आवश्यक कदम चाल्न सकिने प्रतिक्रिया दिएका छन् ।
तीन दर्जनभन्दा बढी कर्मचारीको समूहले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको थियो । समस्या तत्काल समाधान नभए आन्दोलनलाई थप चर्काउने चेतावनी पनि कर्मचारीहरूले दिएका छन् ।





