सुनसरी,२२ असोज । सुनसरीको झुम्का कारागारबाट भदौ २३ गते राति फरार भएका कैदीमध्ये अझै ७ सय जना कैदी सम्पर्कबिहीन रहेका छन्। जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी समूहले कारागारमा पुगेपछि १ हजार ५७५ जना कैदीबन्दी एकैपटक भागेका थिए।
दिनभर शान्त रहेको झुम्का कारागार राति करिब साढे १० बजेतिर तनावग्रस्त बनेको थियो। आन्दोलनकारीहरूले प्रहरीलाई विस्थापित गरेपछि सुरक्षाको अभावमा कैदीहरू एकपछि अर्को गर्दै फरार भएका थिए। सेनालाई सूचना दिइए पनि उनीहरू समयमै नपुग्दा ठूलो संख्यामा कैदी भाग्न सफल भएको कारागार प्रशासनले जनाएको छ।
कारागारका जेलर सुवास लामिछानेका अनुसार अहिले झुम्का कारागारमा १ हजार १ सय १८ जना मात्र कैदीबन्दी रहेका छन्। उनका भनाइमा, फरार भएका ७ सयमध्ये अधिकांश जबरजस्ती करणी र अन्य गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका थिए।
प्रशासनले असोज २० गतेसम्म स्वेच्छिक रूपमा फर्किन आग्रह गरेको थियो, तर अधिकांश कैदी फर्किन मानेका छैनन्। लामिछानेले भने, “केही कैदी दसैं मनाएर फर्किएका छन्, केही तिहार र छठपछि फर्किन सक्ने अनुमान छ। तर आपराधिक सोच भएका धेरै कैदी अहिलेसम्म सम्पर्कमा आएका छैनन्।”
काठमाडौं र वीरगन्जपछि देशकै तेस्रो ठूलो मानिने झुम्का कारागारमा १ हजार ६ सय जनाको क्षमता भए पनि घटनापूर्व दुई ब्लक—‘ए’ र ‘बी’—मा १ हजार ७९९ जना कैदी राखिएका थिए।
अहिले पनि कारागारमा सुरक्षाकर्मीको संख्या र व्यवस्थापन बलियो बनाइए पनि फरार कैदीको खोजी अझै चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ।



