चितवन,२२ असोज । चितवनमा जापानीज इन्सेफ्लाइटिस (Japanese Encephalitis) को संक्रमण बढ्दै जाँदा साउनयता मृत्यु हुनेको संख्या ६ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म भरतपुर, खैरहनी, राप्ती र कालिका नगरपालिकाका बासिन्दाको मृत्यु भएको हो।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो मृत्यु खैरहनी–४ की एक महिलाको भएको छ। मृतकमध्ये दुई जना भरतपुर महानगर, दुई जना राप्ती, एक जना खैरहनी र एक जना कालिकाका हुन्।
अहिलेसम्म जिल्लामा १७ जनामा यो रोगको संक्रमण पुष्टि भएको छ। तीमध्ये १० महिला र सात पुरुष रहेका छन्। उमेर समूहका हिसाबले तीन जना १५ वर्षमुनि, पाँच जना १५ देखि ६० वर्षका र नौ जना ६० वर्षमाथिका रहेका छन्।

संक्रमितमध्ये १५ जनाले खोप नलगाएको पाइएको छ भने दुई जनाको खोप अवस्था स्पष्ट छैन। मृत्यु भएका मध्ये एक ८९ वर्षीय, एक ८१ वर्षीय, दुई जना ७० वर्षका, एक ३९ वर्षीय र एक ४२ वर्षीय व्यक्ति रहेका छन्।
कार्यालय प्रमुख दिनेश रुपाखेतीका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। “यो लामखुट्टे प्रायः घरबाहिर सक्रिय हुने, साँझ र बिहान बढी टोक्ने तथा सुँगुर, हाँसजस्ता पशुहरूबाट संक्रमण फैलाउने गर्छ,” रुपाखेतीले बताए।
उनका अनुसार धानखेतीका क्षेत्रहरूमा यो लामखुट्टेको प्रजनन तीव्र हुने भएकाले किसान र ग्रामीण बस्तीहरूमा संक्रमणको जोखिम अझै बढी छ। जनस्वास्थ्य कार्यालयले उच्च जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन र खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ।




