काठमाडौँ,२२ असोज । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयबाट प्राप्त गाडी फिर्ता गरेका छन्। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सापकोटाले बुधबार गाडी फिर्ता गरेका हुन्।
सापकोटालाई मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले सरकारी सवारीसाधन उपलब्ध गराएको थियो। तर, सुशीला कार्की नेतृत्वको सरकारले पूर्व पदाधिकारीहरूलाई दिइएका सवारीसाधन सुविधा खारेज गर्दै फिर्ता गर्न निर्देशन दिएपछि सापकोटाले पनि उक्त निर्णयको पालना गरेका हुन्।
उनले यसअघि सचिवालयलाई दशैँपछि गाडी फिर्ता गर्ने जानकारी गराएका थिए। सोही जानकारीअनुसार बुधबार गाडी फिर्ता गरिएको प्रवक्ता गिरीले पुष्टि गरे।
यसैबारेमा आजै संसद् सचिवालयको गाडी प्रयोगबारे समाचार सार्वजनिक भएपछि सापकोटाको सचिवालयले स्पष्ट पार्दै मंगलबारकै मितिमा गाडी फिर्ता गरिएको जनाएको छ।



