सिराहा,२२ असोज । जिल्ला प्रशासन कार्यालय सिराहाले राष्ट्रिय परिचयपत्र बनाउने समय परिवर्तन गरेको छ। सेवाग्राहीको अत्यधिक भीडलाई ध्यानमा राख्दै आजदेखि परिचयपत्र सेवा बिहान ७ बजेबाट सुरु गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, दसैं मनाउन घर फर्केका व्यक्तिहरूले परिचयपत्र बनाउन आएपछि कार्यालयमा चाप अत्यधिक बढेको छ। हाल दैनिक दुई सय ५० देखि तीन सय जनाले सेवा लिइरहेका छन्, जुन पहिलेको तुलनामा दोब्बर हो।
बरालले जारी गरेको सूचनामा उल्लेख छ कि अर्को सूचना नआउँदासम्म यही समय तालिका लागू रहनेछ। कार्यालयले सेवाग्राहीलाई समयमै उपस्थित भई आवश्यक सेवा लिन अनुरोध पनि गरेको छ।




