बीरगन्ज,२३ असोज । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण पर्साले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा भन्सार छलीका रु ६ करोड ६८ लाख ८१ हजार मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ।
सीमा सुरक्षा कडाइसँगै सशस्त्र प्रहरीले साउन र भदौमा भन्सार छली गरी भित्रिएका रु ४ करोड ३३ लाख ५७ हजार ५६८ मूल्यका सामान बीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ। त्यसैगरी, बिलविजकभन्दा बढी मूल्यका रु २ करोड ३५ लाख २३ हजार ५८२ मूल्यका सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।
गत आर्थिक वर्षको समान अवधिमा भने सशस्त्र प्रहरीले भन्सार छलीका रु ७ करोड १० लाख २१ हजार ८६१ मूल्यका सामान वीरगञ्ज भन्सारमा र बिलविजकभन्दा बढी मूल्यका रु १ करोड ९२ लाख ५३ हजार ६८७ मूल्यका सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो।
सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार, “सीमा क्षेत्रमा कडाइ बढेसँगै भन्सार छली र बिलविजकभन्दा बढीका सामान बरामद हुने क्रम केही कम भएको छ। तर वीरगञ्ज भन्सारको राजस्व सङ्कलन उल्लेखनीय रूपमा बढेको छ।”
उनी भन्छन्, “सीमावर्ती क्षेत्रमा अवैध चोरी, पैठारी र निकासी नियन्त्रणका लागि आवश्यक कदम चाल्दै आएको छ। यसका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको छ।”
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब रु ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ।



