सप्तरी,२३ असोज । चार महिनादेखि तलब नपाएपछि सप्तरीको खडक नगरपालिकाका शिक्षकहरूले बिहीबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। लामो समयदेखि तलब रोकिँदा दसैँजस्तो ठूला पर्वको मुखमा आर्थिक संकटमा परेका उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
खडक नगरपालिका–स्थित कल्याणपुरमा रहेको नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गर्दै शिक्षकहरूले “भोकै पेटले पढाउन सकिँदैन” भन्ने नारा लगाउँदै आफ्नो पीडा सार्वजनिक गरेका छन्। तलब नपाउँदा घरखर्च, चाडपर्व र पारिवारिक जिम्मेवारी सबै प्रभावित भएको उनीहरूको गुनासो छ।
शिक्षक कुलानन्द साहका अनुसार, कार्यपालिकाले दसैँअघि नै शिक्षक र कर्मचारीको तलब वितरण गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन। “असोज ७ गते नै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको थियो,” उनले बताए, “तर सुनुवाइ नहुँदा अन्ततः तालाबन्दी गर्न बाध्य भयौँ।”

शिक्षक शैलेन्द्र कुमार चौधरीले भने, “चार महिनासम्म भोको पेटले पढाउँदै थियौँ, अब बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो। शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई बेवास्ता गर्नु निन्दनीय छ।”
तालाबन्दीका क्रममा धर्मराज सिंहसहित १५ जना शिक्षकले हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै तत्काल तलब उपलब्ध नगराए आन्दोलन अझ कडा बनाउने चेतावनी दिएका छन्।
उता, खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले तलब वितरण रोकिँनुको कारण नगरप्रमुखको असहयोग भएको आरोप लगाएका छन्। उनका अनुसार, “असारमै नगरसभा सम्पन्न भइसकेको थियो र कार्यपालिकाले निर्णय पनि गरिसकेको थियो, तर नगरप्रमुख जयप्रकाश चौधरीले दस्तखत र आवश्यक अख्तियारी नदिँदा प्रक्रिया अड्किएको हो।”
शिक्षकहरूको आन्दोलनका कारण नगर क्षेत्रभित्रका अधिकांश विद्यालयमा पठनपाठन ठप्प भएको छ। विद्यार्थीको पढाइ प्रभावित बन्दै जाँदा अभिभावकहरूले समेत तत्काल समस्या समाधान गर्न स्थानीय प्रशासन र जनप्रतिनिधिलाई आग्रह गरेका छन्।




