बीरगन्ज,२३ असोज । विश्व दृष्टि दिवसको अवसरमा बीरगन्जमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ६८ जना सशस्त्र प्रहरी लाभान्वित भएका छन्।
नेपाल नेत्र ज्योति संघ, पर्साको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, वीरगञ्जमा आयोजित शिविरमा सहभागी प्रहरीहरूको आँखा परीक्षण गरी आवश्यक चश्मा र औषधि वितरण गरिएको संघका सदस्य राजन श्रीवास्तवले जानकारी दिए।
शिविरको उद्घाटन सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले आफ्नो आँखा परीक्षण गराएर गरेका थिए। कार्यक्रममा नेपाल नेत्र ज्योति संघ पर्साका सभापति भगवती चौधरीको अध्यक्षता रहेको थियो।

कार्यक्रममा संघका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दिपिका श्रेष्ठ, सदस्यहरू महन्थ प्रसाद यादव, गणेश साह, उमेश गुप्ता, सुनिता नेपाल, समित कर्ण र बसन्त गुप्तासहित अन्यको उपस्थिति रहेको थियो।
संघका प्रतिनिधिहरूका अनुसार, शिविरमार्फत प्रहरी सदस्यहरूलाई दृष्टिसम्बन्धी समस्याको प्रारम्भिक परीक्षणका साथै आवश्यक परामर्श पनि प्रदान गरिएको थियो।




