भक्तपुर,२३ असोज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठन गरिएको आयोगको प्रतिवेदन एमालेले स्वीकार नगर्ने स्पष्ट चेतावनी दिएका छन्।
भक्तपुरको गुण्डुमा बिहीबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त आयोगको निष्पक्षता नै प्रश्नवाचक रहेको आरोप लगाए। उनले आयोगमा रहेका व्यक्तिहरूको अघिल्ला अभिव्यक्ति र पृष्ठभूमि विवादास्पद रहेको भन्दै आयोग “पूर्वाग्रही र पूर्वनियोजित उद्देश्यले” काम गरिरहेको दाबी गरे।
“नेकपा एमालेलाई यो नक्कली आयोग स्वीकार्य छैन। आयोगका सदस्यको अघिल्लो अभिव्यक्ति नै विवादास्पद छ। यस्तो अवस्थामा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो,” ओलीले भने।
आयोगका सदस्यमाथि व्यंग्य गर्दै उनले थपे, “एउटा मान्छे हिजो पक्षपाती थिए, आज अचानक निष्पक्ष बन्ने रे! के गंगाजलले नुहाए, बागमतीको पानीले शुद्ध भए कि सुनपानी छर्के?”
ओलीले सरकारको नियतमा नै खोट रहेको आरोप लगाउँदै भने, “यो आयोग सत्य लुकाउने र विपक्षीमाथि दोषारोपण गर्ने उपकरण हो। त्यसकारण हामी यस्तो प्रतिवेदन मान्दैनौं।”
उनले एमाले संगठनको स्थायित्व र जनमतका बलमा टिकेको पार्टी भएको भन्दै चेतावनी दिए, “लुसुलुसु अगाडि बढ्नुस्, प्रतिवेदन लेख्नुस्, फैसला गर्नुस् — एमाले झुक्दैन। हामी चिट्ठा पारेको होइन, संगठन बनाएर आएको पार्टी हौं।”
ओलीले थपे कि, सरकारले न्याय होइन, राजनीतिक बदला लिन खोजेको छ र एमाले त्यसको प्रतिवाद गर्न तयार छ।



