मकवानपुर, २३ असोज । मकवानपुर प्रहरीले बिल बिजकभन्दा बढी सामान लोड गरिएको एक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा शंका लागेपछि उक्त ट्रक रोकेर जाँच गरेको हो।
प्रहरीका अनुसार बिरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको लु.२ ख ४०४१ नम्बरको कन्टेनर ट्रकमा बिलभन्दा बढी सामान भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा करिब २८ लाख ७० हजार रुपियाँ बराबरको अतिरिक्त मालसामान लोड गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
ट्रकका चालक ४५ वर्षीय हिरालालप्रसाद कुर्मी, पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका–१४, पिपराका बसोबास गर्ने, समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक, चालक र बरामद गरिएको मालसामानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जनाएको छ।




