काठमाडाैं,२३ असोज । तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रूपमा पटाका भित्रिने क्रम बढेपछि कपिलबस्तु प्रहरीले सीमा क्षेत्रमा निगरानी कडाइ गरेको छ। विस्फोटजन्य पदार्थको ओसारपसार रोक्न जिल्लाका नाका र आसपासका क्षेत्रमा प्रहरीको सक्रियता तीव्र बनाइएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार असोज २० देखि २२ गतेसम्म मात्र प्रहरीले विभिन्न नाकाबाट करिब २ लाख ६३ हजार रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ।
“हामीले सबै नाकामा विशेष निगरानी बढाएका छौं, पटाका भित्रिन नदिन प्रहरी सतर्क छ,” आचार्यले बताए। उनले कपिलबस्तु सुरक्षा दृष्टिले अति संवेदनशील जिल्लामध्ये एक भएकाले विस्फोटजन्य वस्तुको ओसारपसारमा कडाइ गरिएको उल्लेख गरे।

प्रहरीका अनुसार बढी नाफा कमाउने लालचमा व्यापारीहरूले खुला सिमानाबाट पटाका लुकाइछिपाई भित्र्याउने प्रयास गर्ने गरेका छन्। प्रहरीको निरन्तर निगरानीका बाबजुद पनि भारतबाट पटाका ल्याउने क्रम भने रोकिएको छैन।
तिहारको तयारीसँगै कपिलबस्तुमा बारुदयुक्त र प्रज्ज्वलनशील पटाकाको कारोबार बढ्न थालेपछि प्रहरीले जनसहयोगका साथ नियन्त्रण अभियानलाई अझ सशक्त बनाउन तयारी गरेको छ।




