रौतहट,२३ असोज । लामो समयदेखि तलब र भत्ता नपाएका रौतहटको कटहरिया नगरपालिकाका करार र ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले मंगलबारदेखि नगरपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गर्दै सेवा प्रवाह पूर्ण रूपमा बन्द गरेका छन्।
कटहरिया वडा नं. १ का सहायक कम्प्युटर अपरेटर मुकेश कुशवाहाका अनुसार माग पूरा नहुँदा सामूहिक रूपमा सबै वडामा तालाबन्दी गरिएको हो। उनले भने, “भदौ महिनासम्मको बक्यौता तलब र सेवा सुविधा नदिँदा हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं।”
नगरपालिकालाई ज्ञापन पत्र बुझाए पनि कुनै सुनुवाइ नभएको कर्मचारीहरूको आरोप छ। तालाबन्दीका कारण वडा स्तरका सबै प्रशासनिक सेवा, नागरिकता सिफारिस, जन्म–मृत्यु दर्ता र सामाजिक सेवा वितरण कार्य प्रभावित भएका छन्।
वडा नं. ८ का कर्मचारी मुकुन्दनारायण यादवले सबै वडाका कर्मचारीहरूले आ–आफ्नो कार्यालयको साँचो आफ्नो जिम्मामा राखेर तालाबन्दी गरेको बताए। उनका अनुसार “तलब भत्ता भुक्तानी नहुँदासम्म कार्यालय खुल्ने छैन।”
वडा नं. ५ का अध्यक्ष सर्फलाल प्रसादले पनि करार कर्मचारीहरूको माग जायज रहेको बताउँदै नगरपालिकाले दशैंसम्म तलब भत्ता नदिँदा असन्तुष्टि बढेको बताए।
नगर प्रमुख अजय प्रकाशले भने, “तिहारअघि करार कर्मचारीको समस्या समाधान गर्ने तयारी भइरहेको छ,” भन्दै तालाबन्दी हटाउन आग्रह गरे। तर, प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली कार्यालयमा अनुपस्थित रहेकाले तत्काल समाधानमा पहल हुन नसकेको वडा अध्यक्षहरूले बताएका छन्।



