बीरगन्ज,२३ असोज । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पर्साले बीरगन्जको आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पसको पठनपाठन तत्काल सुचारु गराउन माग गरेको छ। संगठनले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुबेदीलाई ज्ञापनपत्र बुझाउँदै क्याम्पसको समस्या समाधानको पहल गर्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, क्याम्पस सञ्चालक समिति र प्रशासनबीचको आन्तरिक विवादका कारण शिक्षक तथा कर्मचारीहरूले विगत ५० दिनदेखि तलबभत्ता नपाएको र त्यसकै कारण पठनपाठन भदौ १ गतेदेखि ठप्प भएको उल्लेख छ। यसले विद्यार्थीको शिक्षामा गम्भीर असर परेको भन्दै अनेरास्ववियुले चासो व्यक्त गरेको छ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष सुजित मण्डलका अनुसार, केही व्यक्तिहरुले खेतान परिवारको जातीय पहिचानको हवाला दिँदै क्याम्पसलाई आन्तरिक विवादमा तान्ने, सम्पत्ति र आम्दानी हडप्ने नियतले काम गरिरहेका छन्। यस्तो गैरजिम्मेवार गतिविधिको कारण समुदायमैत्री शिक्षालय संकटमा परेको उनले बताए।
विद्यार्थीले नियमित कक्षा, परीक्षा र अन्य शैक्षिक क्रियाकलापको माग गर्दै प्रदर्शन गर्दै आइरहेका छन् भने, आन्दोलनरत शिक्षक तथा कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन्।
ज्ञापनपत्र बुझाउने टोलीमा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी, इकाई अध्यक्ष अरमान आलम, महानगर सह–सचिव आमान अन्सारी, अनिल हजरा लगायतको सहभागिता रहेको थियो। अनेरास्ववियुले क्याम्पसको आन्तरिक विवाद तत्काल समाधान गरी पठनपाठन पुनः सञ्चालन गर्न सरकारी तहबाट हस्तक्षेपको माग गरेको छ।



